तिहार बिशेष कथा :- बहिनी
“ओए तँलाइ थाहा छ ? मेरि सानी बहिनी पो जन्मिएकी छिन् त।” बहिनी जन्मिएको दिन म गाउँभरिका साथिहरुलाइ यसरी नै सुनाउदै हिँडेको थिएँ। त्यो दिन मेरो खुशिको सिमाना थिएन। त्यहीदिन बेलुका मैले हजुरआमालाई सोधेको थिएँ “आमा! आमा! हाम्री बहिनिको नाम के राख्ने?”
हजुरआमाले मलाइ हेरेर हाँस्दै भन्नू भएको थियो “अब न्वारानमा पो थाहा हुन्छ त लाटा के राख्ने भनेर।”
मैले फेरि हजुरआमालाइ भनेको थिएँ “अहिले चाहिँ नानी भनेर बोलाउने है?”
हजुरआमाले उस्तै हांसेर भन्नू भएको थियो “अहिले नै बोलाएर बोल्छे त अनि तेरि बहिनी?” मैले थोरै कालो अनुहार बनाएर सानो स्वरमा सोधेको थिएँ “कहिले देखि बोल्न थाल्छिन् आमा बहिनी ?”
हजुरआमाले मलाइ काखमा राख्दै भन्नू भएको थियो “समय लाग्छ नि त। अर्को बर्ष देखि अलिअली बोल्ने हुन्छे नि।”
मलाइ त्यो एक बर्ष कहिले कट्छ झैँ भएको थियो। कहिले मेरि बहिनिले मलाइ “दादा” भनेर बोलाउलिन्। कहिले देखि उनी म संग खेल्न सक्ने होलिन्। कहिले मेरा हात पकडेर गाउँ डुल्न सक्ने होलिन्। मलाइ यो सब सम्झिएर खटपटी भएको थियो।
बहिनी भर्खरै बामे सर्न थाल्दा एकदिन घरमा पाहुना आएका थिए। म बहिनीको छेउमा बसेर खेली रहेको बेला उनिहरुले मलाइ जिस्काउंदै भने “अब हामी तिम्री बहिनी लिएर जाने है?”
उनिहरुले त्यसरी जिस्काउदा मेरो अनुहार कालो निलो भएको थियो। मैले बहिनिको हात पकडेर सानो स्वरमा भनेको थिएँ “नाइ के।” उनिहरुले झनै जिस्काउंदै भनेका थिए “हैन! बहिनी त लाने हो हामी, हाम्री नि छोरी छैनन्।”
मेरा आँखाबाट आँशुका थोपा चुहिन थालि सकेका थिए। म जुरुक्क उठेर भित्र आमा भए ठाउंमा कुद्दै गएं अनि आमालाइ पकडेर रुन थालेँ। आमाले सोध्नु भयो “किन रोएको? के भयो ?”
मैले रुंदै भने “बहिनी लाने रे अंकल आन्टिले।”
आमाले मलाइ सम्झाउंदै भन्नू भयो “जिस्काउनु भएको पो त लाटा। कसैले लाँदैन तेरि प्यारी बहिनी। नरो अब भयो।”
आमाले यति भनेपछी बल्ल मलाइ ढुक्क भएको थियो। मैले मनमनै भनेको थिएँ “मेरि बहिनिलाइ म बाट टाढा लान कसैलाइ दिदिन।”
बहिनी भर्खरै चार बर्षकी भएकी थिइन्। तिहारमा भाइटिका लगाउने बेला फुपुले उनलाइ छेउमा राखेर सिकाउनु भएको थियो। बहिनी खुशी हुँदै फुपुले जसो भन्नू हुन्थ्यो त्यसै गर्थिन्। उनका कलिला हातले फुल टिपेर, फुल जस्तै मुस्कुराउंदै मलाइ छर्किन्थिन्। फुपुले उनका हातमा थोरै तेल राखिदिनु भएको थियो। उनका ती साना हातहरुले मेरो केसमा उनले बिस्तारै तेल लगाइ दिएकि थिइन्। फुपुले मेरो बुबालाइ टीका लगाइ दिएर मेरो निधारमा पनि टीका लगाइ दिन खोज्दा बहिनी बोलेकी थिइन् “म नै लगाइ दिने दादालाइ।”
फुपुले बहिनिलाइ हेरेर भन्नू भएको थियो “जान्दैनौ तिमिले। अर्को साल देखि आफैँ लगाइ दिनु। अहिले चाहिँ म लगाइ दिन्छु है?”
बहिनिले अनुहार अँध्यारो पारेर सानो स्वरमा भनेकी थिइन् “जान्दछु।”
फुपुले उसलाइ हेरेर हाँस्दै भन्नू भएको थियो “लु जान्दछेउ भने लगाइ देउ तिम्रो प्यारो दाजुलाइ आँफै।”
उनको अनुहार फेरि चम्किलो भएको थियो तिहारको दियो झैँ। उनले हात कमाउंदै फुपुको सहयोगमा सप्तरंगी टीका मेरो निधारमा भरेकी थिइन्। टीका लगाइदी सकेपछी उनको अनुहारमा ठुलै जित हात पारे झैँ खुशी झल्किएको थियो।
समय बित्तै गयो। त्यसपछि धेरै तिहारहरुमा बहिनिले नै मलाइ टीका लगाइ दिइन्।
गएको साल मंशिरमा बहिनी बाईस बर्षकी भएकी थिइन्। घरमा उनको बिबाहको लागि कुरा आयो। अमेरिका बस्ने एकदमै राम्रो केटा, सबैले उसलाइ मन पराए। आमाबुबाले भनेपछि बहिनी पनि राजी भइन्। जुन बहिनिलाइ म आंफु भन्दा टाढा कहिले नबनाउन चाहान्थेँ उनी म भन्दा धेरै टाढा पुगिन्।
आज भाइटिकाको अघिल्लो दिन बहिनी संग स्काइपमा कुरा भयो। बहिनिले भनिन् “दादा तिहार कस्तो लाग्यो त?”
मैले हाँस्दै भनें “राम्रो नि। झिलिमिली छ।”
उनले पनि हाँस्दै भनिन् “अनि देउसी खेल्न जानू भएन हजुर?”
मैले जवाफ दिएं “गइन हौ, मनै पो लागेन।”
उनले केही भावुक भएर भनिन् “अनि भोलि फूपू आउनुहुन्छ होला नि ?”
मैले उत्तर दिएँ “नआउने रे, बुबालाइ नै बोलाउनु भएको छ उतै।”
उनले झनै अँध्यारो अनुहार पारेर भनिन् “अनि हजुर पनि जाने होलानी?”
मेरो अनुहार अँध्यारो भैसकेको थियो। मैले सानो स्वरमा भनें “खै! जान त पर्ला नि। निधार नै खाली राख्न त भएन।”
उनका आँखा भरिइ सकेका थिए। उनले केही बोलिनन्। मैले नै फेरि भनें “अब त तिमिले टीका लगाइ दिने पनि कहिले हो कहिले खै।”
उनका आँखाबाट आशुको एउटा ढिक्का बाहिर निस्की हाल्यो। उनले हातले आँसु पुछ्दै बोलिन् “जानू फुपुकोमा गएर लगाउनु भोलि, म कल गर्छु नि।”
उनी रोएको देखेर मेरा पनि आँखा रसिला भएर आए। मलाइ थप केही बोल्न आएन। उनले आँसु देख्लिन् भनेर अर्कापटि अनुहार पारेर भनें “ल ल म तास खेल्न जान्छु अब। भोलि कुरा गरौंला।”
यति भनेर मैले स्काइप बन्द गरिदिएँ अनि जुरुक्क उठेर बाहिर निस्किएँ।
यो कथाका लेखक सन्तोष बस्नेत हुन्।