यो घटना बुधबार मध्यरातिको हो, अन्तर्राष्ट्रिय चर्चित डीजे मार्समेलोले धोका दिएपछि उनका समर्थकहरुले काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा तोडफोड गरेका छन् ।
मार्समेलो आउने भनेर आयोजकले प्रतिब्यक्ति ४ हजार रुपैयाँसम्म लिएर हजारौं दर्शकलाई टिकट बेचेका थिए ।
तर, राती निकै बेरसम्म पनि डीजे मार्समेलो क्लबमा देखिएनन् । राती १ बजेतिरमात्र आयोजकले स्वास्थ्यका कारण उनी नआउने जानकारी दिएपछि आक्रोशित दर्शकले क्लबमा तोडफोड गरेका थिए ।
दरबारमार्ग प्रहरी वृत्तका प्रमुख डीएसपी तिलक भारतीले भने, ‘डीजे नआएपछि आक्रोसित भिडले तोडफोड गरेको हो । क्लबमा केही क्षति भएको छ ।’
बिहान ५ बजेतिर मार्समेलोले आफ्नो फेसबुक पेजमा स्वास्थ्यका कारण आफु काठमाडौंमा उपस्थित हुन नसकेको भन्दै क्षमा मागेका छन् । डाक्टरले आफूलाई आराम गर्न निर्देशन दिएका कारण आफू उपस्थीत हुन नसकेको उनको भनाइ छ ।
तर, उनी आउन नसक्ने सूचना किन बेलैमा जानकारी दिइएन भन्नेबारे न त आयोजकले नै मुख खोलेका छन् नत डीजे मार्समेलो नै यसबारे बोलेका छन् ।
मार्समेलो पछिल्ला बर्षहरुमा निकै लोकप्रिय बनेका अमेरिकी डीजे हुन् । डीजेइङ गर्दा उनको टाउकोमा मार्समेलो क्याप लगाइरहेकै हुन्छन् । उनको वास्तविक नाम भने अहिलेसम्म खुलाइएको छैन् ।
कतिसम्म तोडफोड भएछ हेर्नुहोस् यो भिडियो
दरबारमार्गको नाइट क्लबमा भएको तोडफोडको कारक बनेका अमेरिकी डीजे मार्समेलो आफैं त्यस्ता अनौठा व्यक्ति हुन्, जसको अहिलेसम्म वास्तविक परिचय खुलेको छैन । आखिर को हुन् ती ‘छुपारुस्तम’ ? दरबारमार्गको घटनाले यी अमेरिकी डीजेप्रति धेरै मानिसको ध्यान तानिएको छ ।
बुधबार राति काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा डीजे मार्समेलो आउने भनिएको थियो । उनी आउने थाहा पाएपछि सयौं दर्शकले प्रतिव्यक्ति ४ हजार रुपैयाँ तिरेर क्लबसम्म पुगे ।
तर, मध्यराति १ बजेसम्म पनि उनी उपस्थित भएनन् । बरु आयोजकले स्वास्थ्यका कारण उनी आउन नसक्ने जानकारी दिए । त्यसपछि आक्रोशित भीडले क्लबमा तोडफोड गर्यो ।
क्लबमा तोडफोड भएको थाहा पाएपछि उनै डीजे मार्समेलोले फेसबुुकमार्फत काठमाडौं आउन नपाएकोमा माफीसमेत मागेका छन् ।
को हुन् मार्समेलो ?
आखिर यी डीजे मार्समेलो को हुन् ? जसका कारण काठमाडौंको एक क्लबमा बुधबार मध्यराति तोडफोड भयो ?
मार्समेलो अन्तर्राष्ट्रिय डीजे हुन् । विश्वभरका उनका लाखौं फ्यान छन् । यद्यपि, उनको वास्तविक परिचय भने कसैलाई थाहा छैन । उनी मार्समेलोको रुपमै चर्चित छन् ।
तर, कतिपयको यो अनुमान छ कि उनी अमेरिकी डिजे क्रिस्टियन कम्स्टक हुन् । जो ‘डटकम’ भनेर पनि चिनिन्छन् । मार्समेलो र डटकमको स्टाइयल एउटै हुने गरेकाले दुवै एउटै व्यक्ति हुन् भन्ने अनुमान गरिएको छ ।
केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले मार्समेलो नेदरल्याण्डका डिजे मार्टिन गारिक्स वा सम भोगेल हुन सक्ने समेत अनुमान गरेका छन् ।
सन् २०१६ र २०१७ मा डिजे म्यागजिन नामक पत्रिकाले निकालेको उत्कृष्ट एक सय डिजेको सूचिमा मार्टिन नम्बर १ मा परेका थिए । भोगेल जौजको रुपमा परिचित छन् । उनी अमेरिकी डिजे हुन् ।
किन लुकाए परिचय ?
मार्समेलो सार्वजनिक रुपमा देखा पर्दा सधैं मुखुण्डो आकारको माक्स लगाउने गर्छन् । सामाजिक सञ्जालमा उनले पोष्ट गरेका तस्वीर र भिडियोहरुमा समेत उनले मुखौटो लगाउने गरेका छन् ।
मुखौटो लगाएर प्रस्तुति दिने दुई चर्चित डिजे डेड माउस र डाफ्ट पंकबाट मार्समेलो प्रभावित भएको बताइन्छ ।
मार्समेलोको परिचय गोप्य रहे पनि यी डिजेका रुपमा चर्चामा आएको चाहिँ धेरै भएको छैन । सन् २०१५ पछि उनी अन्तर्राष्ट्रिय रुपमै चर्चामा आएका हुन् ।
रुसी संगीतकार जेड्सको ‘ब्यूटिफूल नाउ’, अमेरिकन इलेक्ट्रोनिक डान्स डिजे ज्याकको ‘ह्वेर आर यू नाउ’ र आफ्नो ‘एलोन’ नामक ट्याक सार्वजनिक गरेपछि उनी चर्चामा आएका हुन् ।
मार्समेलोलाई छोटो समयमा अन्तर्राष्ट्रिय रुपमा चर्चामा आएका डिजे मानिन्छन् । सन् २०१५ मार्च ३ तारिखमा उनले आफ्नो पहिलो गीत ‘वेब्ज’ आफ्नो साउण्ड क्लाउण्ड पेजमा अपलोड गरेका थिए ।
उनको साउण्ड क्लाउड पेजमा ८ लाख १३ हजार फलोअर्स छन् भने फेसबुकमा उनलाई पछ्याउने ५० लाख छन् । त्यस्तै, इन्स्टाग्राममा उनलाई फलो गर्ने ५१ लाख छन् र ट्वीट्मा ७ लाख ४५ हजारले उनलाई फलो गर्छन् ।
मार्समेलोले सन् २०१६ मा डिजे म्यागजिनको उत्कृष्ट १०० डिजे मध्येको २८ औं नम्बरमा परेका थिए ।
उनलाई पहिलोपटक नेपाल ल्याउने भन्दै डेजाभु नाइट क्लबले दर्शनहरुबाट करिब ४० लाख रुपैयाँ उठाएको थियो, तर उनी नआएपछि क्लबमा ठूलो क्षति पुग्ने गरी तोडफोड भयो ।
अनलाइनखबरबाट साभार गरिएको